ग्यास्ट्रिकले अल्सर, अल्सरले क्यान्सर!

स्वास्थ्य

बोलीचालीमा ग्यास्ट्रिक भनेर चिनिने रोगलाई चिकित्सकीय भाषामा ग्यास्ट्राइटिस भनिन्छ । यो समस्याले नसताउने नेपाली पाउन मुस्किल छ। आखिर नेपालीलाई नै बढी ग्यास्ट्राइटिस किन हुन्छ त ? यसबाट बच्ने उपाय के हो ? ग्यास्ट्राइटिस भइसकेपछि कस्तो उपचार गर्ने ? यस विषयमा प्रस्तुत छ– नागरिक दैनिककी पवित्रा सुनारले वीर अस्पतालका ग्यास्ट्रोलोजी विभागका प्रमुख फिजिसियन तथा ग्यास्ट्रोेलोजिस्ट डा.विधाननिधी पौडेलसँग गरेको कुराकानी:

ग्यास्ट्राइटिस भनेको के हो?
आमाशयको नरम झिल्ली सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । खाना जाने नली, आमाशय र डियुडेनम सम्मको भागलाई ग्यास्ट्राइटिस भनिन्छ । आमाशयको भित्री नली सुन्नियो भने हामी त्यसलाई ग्यास्ट्राइटिस भन्छौं।

हेलिको पाइलोरी व्याक्टेरियाले ग्यास्ट्राटाइटिस कसरी बनाउँछ?
हेलिको पाइलोरी व्याक्टेरिया आमाशयको झिल्ली भित्र बस्छ । यसले युरिएच नामक रसायन उत्पादन गर्न सहयोग गर्छ । यो दूषित पानी, खाना तथा मान्छेको -यालबाट सर्छ र पेटभित्र पुग्छ । हेलिको पाइलोरी व्याक्टेयरियाले ग्यास्ट्राटाइटिस मात्र हैन, अल्सर हुँदै पछि गएर क्यान्सरसमेत हुन्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा ग्यासट्राइटिस बनाउने मुख्य कारण भनेको एचपाइलोरी व्याक्टोरिया नै हो । हेलिको पाइलोरी व्याक्टेरिया भएकामध्ये अन्तिममा गएर एक प्रतिशत बिरामीलाई क्यान्सर पनि हुन्छ।

ग्यास्ट्राइटिस हुने अन्य कारण के–के हुन्?
जथाभाबी औषधि खाने, पेनकिलर खाने कारण पनि ग्यास्ट्राइटिस बढ्छ । टाउको दुख्यो, घुँडा दुख्यो, शरीर दुख्यो भनेर ब्रुफिन, डाइक्लोफेना किटलोजस्ता औषधि खान्छौं । यी औषधिको बढी प्रयोगले पनि ग्यास्ट्राइटिस हुन्छ । खाली पेट बस्ने र समयमा नखाने गर्दा पनि ग्यास्ट्राइटिस हु्न्छ । हामी धेरै पिरो, अमिलो, चिल्लो खान्छौं । तिनले ती भागमा संक्रमण बनाउन मद्दत गर्छन् । पहिलो कारण, एचपाइलोरी व्याक्टेरिया, दोस्रो कारण, जथाभाबी औषधिको प्रयोग, तेस्रो कारण, समयमा नखानु र चौथो कारण जथाभाबी चिल्लो, अमिलो र रसायनयु्क्त खानाहरू बढी खानु ग्यास्ट्राइटिस हुनुका कारण हुन् । अर्को कारण, गलत जीवनशैली जस्तो, समयमा नसुत्नु, बढी कामको दबाब हुनु । यस्ता कारणले पनि मानिसलाई ग्यास्ट्राइटिस हुन्छ।

नेपालीलाई बढी ग्यास्ट्राइटिस हुन्छ भन्ने सुनिन्छ, कारण के हो?
यो कुरा यथार्थ हो । यसको मुख्य कारण के हो भने अरू देशको तुलनामा हामी नेपाली बढी दूषित एवं अखाद्य खाना खान बाध्य छौं । बढी रसायन र विषादी मिसिएको खाना खान्छौं । यस्ता खानाले पेटमा सीधै इरिटेसन(रसायन उत्पन्न गराएर ग्यास्ट्राइटिस हुन्छ)हामी कहाँ भिटामिनयुक्त एवं परीक्षण गरेको खाना पाउन मुस्किल छ । अर्कोतिर, सरकारले शु्द्ध पिउने पानीको व्यवस्था पनि गर्न सकेको छैन । पानीको पाइपमा ढल मिसिएका छन् । ढलमा दिसा हुने र दिसामा एचपाइलोरी किटाणु हुन्छ । यस्तो दूषित पानी पिउँदा ग्यास्ट्राइटिस हुँन्छ । अमेरिका, बेलायतजस्ता मुलुकमा ३० प्रतिशत मानिसमा देखिने यो रोग हामीकहाँ ९० प्रतिशत मानिसलाई देखिन्छ।

त्यसो भए ग्यास्ट्राइटिस मनसुनका बेला बढी देखिने हो?
हामीकहाँ बाह्रै महिना ग्यास्ट्राइटिसको भएको देखिन्छ । वर्षात्का बेला पानी बढी प्रदूषित हुने भएकाले अलि बढी हुन्छ।

कुन समूह बढी प्रदूषित पानी र खानाबाट प्रभावित देखिन्छ?
सबैभन्दा ठूलो समूह त गरिब वर्ग नै हो । ताजा र सफा खाने कुरामा उनीहरूको पहुँच पनि कम छ । जंकफुड, बासी खाना खाने मध्यम र विपन्न वर्ग नै हुन् जो शुद्ध पानी र खानाको पहुँचबाट टाढा छन् । सफा शौचालयमा पनि उनीहरूको पहुँच छैन । आर्थिक अभावका कारण यो वर्ग जहिले तनावमा पनि हुन्छ । साथै यो वर्गका मानिस अलि बढी रक्सी, चुरोट पनि खान्छन्।

चुरोट र रक्सीले कसरी ग्यास्ट्राइटिस बनाउँछ?
चु्रोटले फोक्सोबाट म्युकस मेम्मरोम (आमाशयको बाहिरी झिल्ली)मा रक्तसञ्चार हुन बाधा पु-याउँछ र अल्सर हुने संभावना बढाउँछ । रक्सीले सीधै आमाशयमा असर पु-याउँछ।

ग्यास्ट्राइटिस बिगे्रपछि अल्सर हुन्छ, अल्सर बिगे्रपछि क्यान्सर हुन्छ, भन्छन् ? कसरी हुन्छ?
हो, ग्यास्ट्राइटिस बिगे्रपछि पहिला अल्सर (घाउ)हुन्छ । अल्सर भएपछि अरू चिजहरू हुन्छ । जस्तो ड्युडेनममा अल्सर भयो भने रक्तश्राव हुने, रगत वान्ता गर्ने, दिसाबाट रगत जाने हुन्छ । जस्तो, रगत वान्ता गरेर मृत्यु भयो भन्छन् । त्यही अल्सरले ड्युडेनमलाई साँघुरो बनाइदिन्छ र खाना नै नछिर्ने हुन्छ । वान्ता गर्ने र खाना तल नजाने हुन्छ । अल्सर धेरै भएपछि चैं आन्द्रा नै फुट्ने हुन्छ । पहिला यस्तो धेरै हुन्थ्यो । अहिले अलि घटेको छ । अल्सर बढ्दै गएपछि अन्तिममा क्यान्सर हुन्छ।

वीर अस्पतालमा आउने बिरामीमा ग्यास्ट्राइटिस समस्या हुने कति हुन्छन्?
हामीकहाँ, कुल बिरामीमध्ये ५० प्रतिशत ग्यास्ट्राइटिसकै छन् । तीमध्ये अल्सर भएका आठ प्रतिशत छन् । क्यान्सर हुने एक प्रतिशत मात्र छन् । अहिले समयमै उपचार गर्ने चलन बढ्दै गएका कारण क्यान्सर हुने कम देखिएको छ ।

ग्यास्ट्राइटिस भइरहेको छ भनेर कसरी थाहा पाउने?
पेट दुख्ने, वाक–वाक लाग्ने, पेट ढाडिने, अपचजस्तो हुने, वान्ता हुने भएमा ग्यास्ट्राइटिस भएको हुन सक्छ । पहिचान गर्ने उत्तम तरिका भनेको इन्डोस्कोपी परीक्षण हो । इन्डोस्कोपी परीक्षणबाट घाउ भेटिएमा त्यसको मासु निकालेर परीक्षण गरिन्छ । यो परीक्षणबाट पेटमा क्यान्सर भए/नभएको थाहा हुन्छ । पेटको तल्लो भागमा क्यान्सर हुने सम्भावना कम हुन्छ । जस्तो, ड्युडेनममा अल्सर छ भने त्यो क्यान्सर हुने सम्भावना कम हुन्छ।

ग्यास्ट्राइटिसको उपचारमा सर्वसाधारणको पहुँच कस्तो छ?
सरकारले हरेक स्वास्थ्य चौकीमा पनि ग्यास्ट्राइटिस कम गराउने औषधि निःशुल्क वितरण गरेको छ।

अस्पतालमा बिरामी कुन अवस्थामा आइपुग्छन्?
विकट जिल्लाबाट आउने बिरामी गम्भीर अवस्थाका हुन्छन् । वृद्ध उमेरकाहरू क्यान्सर भएपछि आइपुग्छन् । वान्ता भयो, पेटमा गोला हिंड्यो, दुब्लाउँदै गएँ भन्नेहरूमा क्यान्सर भएर आएका हुन्छन् । अन्य बिरामी भने ग्यास्ट्राइटिसकै अवस्थामा आइपुगेका हुन्छन्।

ग्यास्ट्राइटिसका लक्षणहरू के–के हुन् त?
खाना खाएपछि वाक–वाक लाग्नु, खाली पेट हुनेबित्तिकै दुख्ने, अमिलो पानी आउने, डकार आउने, पेट ढाडिएजस्तो हुने हुन्छ । जसले राति उठेर खाना खानु पर्छ, राति पेट दुख्छ र उठ्नुपर्छ भने अल्सर भएको हुन सक्छ । तर, कहिलेकाहीं पेट नदुखे पनि अल्सर हुने सम्भवाना बढी हुन्छ।

पेटमा क्यान्सर हुँदा देखिने लक्षण?
दुब्लाउँदै जाने, खान मन नलाग्ने, रगतको मात्रा कम हुने, शरीर सेतो हुँदै जानेजस्ता लक्षण देखिन्छन् ।

यो रोगबाट कसरी बच्ने?
समयमा खाना खाने, समयमा सुत्ने, मद्यपान, धूमपान नगर्ने, शुद्ध पानी मात्र पिउने, आहार–विहारमा ध्यान दिने, अनिँदो नबस्ने, सकरात्मक सोंच राख्ने, चिन्ता नलिने गर्नुपर्छ।

नेपालमा ग्यास्ट्राइटिस उपचारको अवस्था कस्तो छ?
नेपालमा ग्यास्ट्राइटिसको उपचार अन्तर्राष्ट्रिय स्तरको छ । व्याक्टेरिया हेर्ने र त्रिपल थेरापी दिन्छौं । हामी स्ट्यान्डर्ड नियमका आधारमा उपचार दिन्छौं । गाउँमा रगतमा एचपाइलोरी हेर्ने प्रवृत्ति देखिन्छ । यो उपचारको सही प्रक्रिया हैन । बे्रथ युरिएच टेस्ट (श्वासबाट किटाणुको जाँच) गर्ने, इन्डोस्कोपी वायप्सी कल्चर परीक्षण र डबल बेलुन इन्टेरेस्कोपी परीक्षण गरिन्छ।

डबल बेलुन इन्टेरेस्कोपी सबैभन्दा आधुनिक उपकरण हो । यसले मुख र मलद्वारबाट पाइप पठाएर पेटका सबै रोगको अवस्था हेरिन्छ । यो परीक्षणबाट ग्यास्ट्राइटिसको पहिचान र उपचार दुवै हुन्छ । यो मेसिन आएको आठ महिना भयो । यो परीक्षण शुल्क भर्ना भएका बिरामीलाई नौ हजार रुपैयाँ र बहिरंग विभागमा आउने बिरामीलाई १८ हजार रुपैयाँ लाग्छ।

Source: Nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *